Saturday 30 January 2016

-गीत - 'विभाजित मुटु '



आधा मुटु स्वदेशमा ,आधा परदेशमा
बांढिएर  मुटु दुख्छ, बल्झिरन्छ ठेसमा ।।

 मुलबाटोको  मिठो साथ  दोबाटोले  तोडेपछि
 टुट्यो यात्रा उसै  गरि  उनले घात रोजेपछि।।

 दिलमा चोर बसाईछन् , विश्वासहरू टुटिगए ।
 सम्बन्ध हो  सिसा जस्तै ,एकै चोटि फुटिगए । ।
 
मेटियो नाता , सम्वन्धको ,  झल्को मेटिएन  ।
निश्ठुरिको  मन सिलाउने, सियो भेटिएन । ।

आधा मुटु स्वदेशमा ,आधा परदेशमा
बांढिएर  मुटु दुख्छ, बल्झिरन्छ ठेसमा ।  -भीमसेन  सापकोटा ,सिड्नी । 
Reference:http://nepalpati.com/news/21338/bhimsen-sapkota


Wednesday 27 January 2016

‘सपना झुलेको शहरको कथा’


--भीमसेन सापकोटा


सुकिला शहरमा
धमिला मनहरू
अनि भरिएका   सडकका
रित्ता मान्छेहरू
दु: खरिद गर्न प्रतिस्पर्धामा
छन्
अनि प्रतिस्पर्धामा मिसिएको
मेरो सांइंलो दाजु
डार्लिङ्ग हार्वरका क्याफे   गराहरूमा ,
ओपेरा पारीका पिजा दोकानका    सुर्काहरूमा,
मध्यरातका भट्टीहरूमा त्यागिएका
बेहोसी फोहरको धुलाइमा  
सुनौलो सपना झुलेको देख्छ
मेरो सांईलो दाइका सपना सँगै
पसिना पाक्छ सिड्निका पाकशालाहरूमा
यो शहर साइंला दाजुले घोलेको  गुलिया कफि
पिउंछ , तर तिर्दैन उसका नुनिला पसिनाहरूको मोल ,
दाजुले  प्लेटभरि पस्किएर  सजाएको 
परीकारहरूको स्वाद लिने शहर ,
सांईला दाजुका सपनाका विस्कुन  जाँन्दैन
हिजो झै आज सपना को बाढि
लगाईरहेछ , सडकहरूमा उसकै पसिनाका डोब छन्
उसले शहर चिनेन वा शहरले उसलाई चिनेन.
दुबै साथमा छन्, तर सदियौं देखि
एक आर्कामा अपरिचित छन् ,
सुकिला शहरहरू
मेरा सांईला दाजुका सपनाहरू
सपनाहरूलाई यतै कतै उन्मुक्त   छाडेर  ,
 साइला दाजु देश फर्किए
कोफिनका बन्दि बनेर
सुन्छु  आज साइंलादाइका छोरो पनि
यहि प्रतिस्पर्धामा जुटेको , त्यहि शहर ,
 त्यहि सपना त्यहि पसिनाको पथमा    
 



'उदाउंनै दिनुहुन्न -सुर्यलाई! '




 सुतेर देखिने सपना -सपना होईन ,
 बरू ,सपना त्यो हो,

 जो देखिए पछि सुत्न दिंदैन
यस्तै सपना देख्नु गल्ती थियो  मेरो
तारा देखाएर , सँगैं उदाउने प्रयास गर्नु
एउटा भुल थियो  
त्यसैले तिमी सपना तुहाउन ,
ताना बाना बुनिरहेका छौ
देउ जहर हांसेर पिउनेछु
आफ्नै टाउको हातमा लीइ नाच्ने छु
मेरो दुनियाँ खुशी हुन्छौ भने, तिमि लाई
खुशी पारीइरहन, हांस्दै चिता चढ्ने छु
सुकरात , ओशो , प्रभुपाद कृष्ण मुर्ती
खै कसलाई छाड्यो जहरले,
ताराहरू झरीरहनु पर्छ यहाँ ,
उज्यालो हुन दुनियाँको रहरले
सुतेकाहरू सुतेको ठान्दैनन्,
बेहोसिहरू चेत हराएको मान्दैनन्
सत्य ,हो, तिमीले हारीरहनु पर्छ
आफु पीडा उसिनेर ,
 अरूलाई पेडा खुवाउनेहरू नै यहाँ,
मरीरहनु पर्छ
ईतिहास हरू हो तिमीहरू
बलियाहरूका   कलमका मसि बनिरहनु पर्छ
अांशु पानी उस्तै -उस्तै ,
नपिउन्जेल  स्वरुप दुरुस्तै
खुकुरीहरू हो, अचानोको मुख
संधै थुनिरहनू,
सोध्यो कसैले भने चोटको पीडामा
खुकुरी मात्र भनीरहनु ,
जर्सी गाई बनेर बसेका, सर्पहरूलाई
सधैं दुध पीलाई रहनु
युगहरू यसरी पो चल्नु पर्छ
सुर्यलाई उदाउंनै दिनुहुन्न,
अनी पो लाटोकोसेराको राज

चारै प्रहर चलिरहन्छ                -भीमसेन सापकोटा

Thursday 7 January 2016

जुरमुराए फीजीका नेपाली!

जुरमुराए फीजीका नेपाली

हेमन्त काफ्ले सिड्नी,पुस ७ print

  • 2314
     
     
    46
     
     
    0
    Google +
     
    2366
     
  • GET NEWS ALERTS

एक सय छत्तीस वर्षपछि खुल्यो नेपाली संघ
राई, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तामाङलगायतको थर सुन्दा अचम्म लाग्छ फिजीमा। तर बोल्न थाल्यो भने हिन्दी र अंग्रेजी। अचम्म लाग्छ सुन्दा पनि। तर इतिहासको पुरानो पाना पल्टाउँदै लाने हो भन्ने बल्ल थाहा हुन्छ, फिजीयन नेपालीको कथा।
सन १८७९ को मे महिनामा कोलकाताबाट हानिएको पानी जहाजमा सवार नेपाली पहिलो पटक फीजी पुगेको इतिहासको पानामा इंकित छ । तर अहिले आएर फीजीमा रहेको करिब दश हजारको संख्यामा रहेको नेपाली समुदाय आफ्नो भाषा ,संस्कृति र पहीचानका लागि लागिपरेका छन्। मानिस जसरी जहाँ पुगेपनि आफ्नो भाषा, संस्कृति र पहिचानको खोजिगर्न विर्सदैनन् भन्ने कुरा यतिखेर फीजीमा चरितार्थ भएको छ।
एक सय छत्तीस वर्षपछि उनीहरूले यसै महिना फीजी नेपाली संघको स्थापना गरेका छन्।
हुन त तेस्रो र चौथो पुस्ताका रुपमा रहेका नेपाली मुलका यी फीजियनहरुलाई नेपाली भाषा बोल्न र लेख्न भने आउदैन तर पनि उनीहरू आफूलाई नेपाली भन्न गर्व गर्छन्। ‘हाम्रा बाजे, बराजु फीजी आएछन्, हामी यताकै परम्परा र भारतीय मुलसँग मिसिदै आयौ तर हामी नेपाली हौ र हामीले हाम्रो पहिचानको रक्षा गर्नुपर्छ’, नवगठीत फीजी नेपाली संघका अध्यक्ष प्रबिणदेव घर्तीले बताए।
सिंगाटो जिल्ला नेपाली मुलका फीजियनहरुको बाहुल्यता रहेको जिल्ला हो। हिन्दु धर्म ,परम्परा मान्दै आएका यी फीजि नेपालीहरू अंग्रेजी र हिन्दी भाषामा पोख्त भएपनि नेपाली भने बोल्न त्यती जान्दैनन्, फीजीका लागि सांस्कृतिक दूतका रूपमा त्यहा पुगेका पुराना सन्चारकर्मी भीमसेन सापकोटाले बताए ।
 कृषी र उद्योगधन्दामा आवद्ध रहेका नेपालीहरू भारतीय कामदारसँग मिसियर ब्रिटीसको शासनकालमा कोलकाताबाट फीजी पुगेका हुन्। करिब ७५ दिनको यात्रापछि पहिलोपटक लियोजिदास नामक ब्रिटीस पानी जहाज चढेर उनीहरू कोलकाताबाट फीजी पुगेको इतिहासमा भेटिएको छ। सन १८७९देखि १९१६ सम्म भारतबाट गएका ८७ वटा पानी जहाजमा करिब चार हजारको संख्यामा नेपाली फीजी पुगेको अनुमान पुराना बुढापाकाहरू लगाउछन्।
करिब तीन सय ३२ वटा ससना टापुमा फैलिएको फीजीको मेन्ल्यान्ड,भिती लेभु र भाउनुवा लेभु अन्तर्गतका सिंगाटो र लम्बासा जिल्लामा नेपालीहरू बाहुल्यता रहेको छ। ‘पहिलो पटक विधिवत रुपमा नेपाली संस्था खोलेपछि उनिहरू भाषा सिक्ने तयारीमा जुटेका छन्। हामी नेपाली भाषा जान्दैनौ त्यसैले भाषा कक्षा संघको पहिलो काम हुने छ,’ अध्यक्ष घर्तीले सुनाए।
दशैं ,तिहार मनाउँछन्, ढाका टोपी लाउँछन् अनि सेल रोटी खान्छन् तर भाषा बोल्न जान्दैनन्, फीजीको नेपाली समुदायलाई समेटने कार्यमा जुटेका भिमसेन सापकोटा बताउँछन्। एक सय ३६ वर्षको गर्विलो इतिहासमा न हामीलाई नेपालले खोज्यो न हामीले नेपाललाई, संघका महासचिव बिजेन्द्र सिंहले तितो पोखे। फीजि सरकारले नेपालीलाई भारतीय ठान्दछ र उनीहरूलाई सोही दर्जामा राखेको छ।
कारण भारतीय पहिचानमा फीजी पुगेका नेपाली सोही समुदायसँग घुलमिल गरेर बसेको बर्षौ भइसक्यो। रोटीबेटीको सम्वन्ध पनि भारतीयसँगै चलेका कारण फीजियन नेपाली थरमा मात्र सिमित छन्। फीजीका प्रधानमन्त्री फ्रयांन्क बेनी मरामाले समेत नेपाली समुदायको पहिचानको लागि मौका प्रदान गर्ने आश्वासन दिएको कुरा अस्ट्रेलियाबाट फिजी पुगेका सांस्कृतीक दूत सापकोटाले सुनाए।

प्रकाशित मिति: मंगलबार, पौष ७, २०७२ १९:३१:३०